धनगढी- नेकपा (माओवादी) केन्द्रले उप निर्वाचनका लागि प्रचारप्रसारलाई तीब्र बनाएको छ ।
बझाङ प्रदेश सभा १ मा यही बैशाख १५ गते हुने उप निर्वाचनका लागि माओवादी केन्द्रले प्रचार—प्रसारलाई तीब्र बनाएको हो ।
नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा उम्मेदवार रहेका छन् ।
प्रचार—प्रसारका लागि नेकपा माओवादी केन्द्रले निर्वाचन क्षेत्रभित्रका सबै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा प्रचार प्रसार टोली गठन गरि खटाएको माओवादी केन्द्रले जनाएको छ । टोलीमा केन्द्रीय सदस्य देवकी मल्ल,ललित सिंह ठगुन्ना,लालबहादुर सोडारी,मीनबहादुर कुँवर,धर्मराज विक,केशव नाथ र लक्ष्मण खड्कालगायत रहेका छन् ।

अनुगमन,परिचालन र प्रचारप्रसार व्यवस्थित बनाउने काम केन्द्रीय सदस्य ओमप्रकाश पुनले गरिरहेका छन् ।
जिल्लाको परिचालन समिति संयोजक देवराज रेग्मी,आर्थिक व्यवस्थापन जिल्ला संयोजक टोपबहादुर खड्का र प्रचारप्रसार संयोजकमा सम्राट सिंह रहेका छन् । प्रचारप्रसारको क्रममा माओवादी केन्द्रको चुनाव चिन्हमा १० वर्षदेखि जनताले भोट हाल्न नपाएको र अहिले भोट हाल्न पाइने भन्दै उत्साहित देखिएको केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए । अन्य पार्टीका उम्मेदवारभन्दा स्थापित युवा नेता,संविधानसभा सदस्य तथा प्रष्ट वक्ता,निष्कलंक छवि बनाएका जनकबहादुर बुढा प्रति जनताको आकर्षण रहेको उनले बताए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले सुर्मा गाउँपालिकाको वडा नं. ३,४ र ५ मा आज घरदैलो अभियान अन्तरगत जन भेटघाट गरेको छ । १ र २ नम्बर वडामा भने बुधबार विहान भेटघाट सम्पन्न गर्ने माओवादी केन्द्र बझाङले जनाएको छ । जयपृथ्वी नगरपालिकाको १ देखि ९ नम्बरसम्म भेटघाट यसअघि नै सम्पन्न गरेको छ भने १० र ११ नम्बर वडामा केही दिनमा सम्पन्न हुने जनाएको छ । तलकोट र मष्टा गाउँपालिकामा भेटघाट सम्पन्न गरिसकेको छ । बझाङ प्रदेश सभा १ मा एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।
















