धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय ३३ जना लाभान्वित भएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरबाट उक्त संख्याका बिरामीले उपचार सेवा लिएका हुन् ।
शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच,पाठेघर खसेको, हाडजोर्नी सम्बन्धि जाँच,प्रयोगशाला,भिडियो एक्सरे लगायतका सेवा प्रदान गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार जनरल सर्जरी,जनरल मेडिसिन,स्त्री रोग र हाडजोर्नी गरी चार जना विशेषज्ञ चिकित्सकको टोलीले निःशुल्क चेकजाँच तथा उपचार सेवा प्रदान गरेका थिए । शिविर धनगढीस्थित केजी अस्पताल प्रालिको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उनले बताए । उपचार सेवा लिएका मध्ये ९० प्रतिशत महिला रहेको जनाइएको छ । आगामी दिनमा पनि पालिकाका विकट बस्तीहरुमा शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।














