बझाङ – बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ। मध्याह्नतिर वातावरण प्रदूषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी नगरपालिका–४ का सत्यराज जोशीले बताए।
उनले भने, “मध्याह्नको वेला यस्तो अँध्यारो त कहिल्यै देखिएको थिएन। यो पटकको प्रदूषणले भने बझाङको अवस्था निकै कष्टकर भएको छ।”डिभिजन वन कार्यालय बझाङका अनुसार जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेकाले समुदायमा जनचेतना फैलाउँदा पनि स्थानीयले अटेर गरेका छन्।
कार्यालयका सूचना अधिकारी कपिल रावलले आगो लगाउने मान्छेलाई कारबाहीका लागि सूचना नै जारी गरेको बताए। “डिभिजन वन कार्यालयले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियानअन्तर्गत माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, डेमो गराउनेलगायत गर्दा पनि अटेर गरेपछि आगो लगाउनेलाई कारबाही गर्न सूचना निकालेका छौँ।”
गोप्य सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिने उनले बताए। सूचना अधिकारी रावलले स्थानीयले घाँस पलाउने, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने गरेको बताए।
कतिपय ठाउँमा वन्यजन्तुको शिकारका लागि समेत जानाजान आगो लगाउने गरेको उनले बताए। रावलका अनुसार आगलागी भएको ठाउँमा नियन्त्रणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेना खटिएका छन्।
हिन्दुकुश हिमालयका मानिसको पक्षमा कार्यरत अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार बझाङमा वित्थडचिर, दुर्गाथली, थलारा, मष्टा गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा आगलागी भएको छ।
















