धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा गठित न्यायिक समितिले १९ वटा मुद्धा फस्र्यौट गरेको छ । समितिले चालु आवका १० महिनामा सो मुद्धा फस्र्यौट गरेको हो ।
चालु आवमा दर्ता भएका १६ र गत आवबाट जिम्मेवारी सरी आएका १० गरी २६ वटा मुद्धामध्ये १३ वटा मुद्धा मेलमिलापको माध्यमबाट समाधान गरिएको,घरसारमा मेलमिलाप भइ एउटा मुद्धा फिर्ता भएको र पाँच वटा मुद्धामा सम्बन्धित निकायमा जान सुझाव दिइएको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक कन्दकलाकुमारी रानाले जानकारी दिइन् । हाल सात वटा मुद्धा प्रकृयामा रहेका तथा ६४ वटा उजुरीमा कानुनी परामर्श दिइएको उनले बताइन् ।
न्यायिक समितिमा प्रायः जसो जग्गा सीमा विवाद,ज्याला मजदुरी नपाएको,बलेसीको पानी झारेको,घरभाडा,घर झगडालगायतका मुद्धाहरु आउने गरेको उनको भनाइ छ । ‘न्यायिक समितिमा धेरै प्रकारका उजुरी आउने गरेका छन्’, उनले भनिन् ‘कानुनले तोके बमोजिमका उजुरी दर्ता गर्ने गरेका छौँ ।’
उनले भनिन् ‘निष्पक्ष भएर विवाद मेलमिलाप गर्छौँ । सकेसम्म मिलापत्र गरेर जाने वातावरण बनाउँछौँ । भर्सक गाउँमै मिल्न सुझाव दिन्छौँ । ‘अदालत गएर फेरि फर्केर यहाँ आएर मेलमिलाप गरेर गएका उदाहरण पनि छन्’, उनले भनिन् ‘ भर्सक अदालत नजाउन भन्ने हाम्रो चाहना हुन्छ ।’
गत आव २०७९÷८० मा दर्ता भएका ३४ वटा र आव २०७८÷७९ बाट जिम्मेवारी सरी आएका २५ गरि ५९ मुद्धामध्ये गत आवमा ४९ वटा मुद्धा फस्र्यौट गरिएको न्यायिक समितिले जानएको छ
















