कैलाली- धनगढी उपमहानगरपालिकामा क्षयरोगीका बिरामीको संख्या बढेको छ । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा बिरामी बढेका हुन् ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार गत बर्ष मंसिरको दोस्रो हप्तासम्म १ सय ५४ जना क्षयरोगका बिरामी थिए भने चालु आर्थिक बर्षमा भने १ सय ५९ जना रहेका छन । गत वर्षको तुलनामा चालु आवमा ५ जना बिरामी बढेका छन् ।
नेपाल सरकारले २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउन परिकल्पना गरेको भएपनि क्षयरोग मुक्त भने हुन सकेको छैन् । रहनसहन,खानपान र औषधीको लापरबाहीका कारणले पनि क्षयरोगका बिरामी बढ्न थालेको जनस्वास्थ्य निरीक्षक कृष्ण पन्तले निशाना न्युजलाई जानकारी दिए ।
‘घटबढ त भइनै रहन्छ’, उनले भने ‘लक्ष्यअनुसार क्षयरोग कम हुनुपर्ने हो तर भएको छैन् । सम्भावित लक्षण भएका बिरामीको खकार समयमा परीक्षण गरि रोग पत्ता लागेको दिनबाट औषधी सेवन गर्न सके यो रोग निको हुन समय लाग्दैन ।’ उनले भने ‘कम्तीमा ६ महिना औषधी सेवन गरेका बिरामीले बिचैमा छोडेर बन्द ग¥यो भने फेरी बल्झिने हुन्छ ।’ त्यस्ता बिरामी औषधी प्रतिरोधी क्षयरोगी हुन्छन र उनीहरुले अरु व्यक्तीलाई यस्तै खालको क्षयरोग सार्ने डर हुनुले पनि लक्ष्यअनुसार यो रोग निर्मुल हुन समय लाग्ने उनले बताए ।
त्यस्तै, चालु आर्थिक बर्षको तथ्याङ्कअनुसार धनगढी उपमहानगरपालिकामा क्षयरोगका ७३ जना महिला र ८६ जना पुरुष बिरामीले औषधी सेवन गर्दै आएका छन । धनगढीको वडाको तथ्याङ्क हेर्ने हो भने वडा नं. १ मा ८९ जना क्षयरोगीका बिरामीले औषधी सेवन गर्दै आएका छन ।
वडा नं. १९ मा ११ जना,वडा नं. १४मा ८ र वडा नं. ७ मा ८ जना क्षयरोगका बिरामी रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै वडा नं १५ मा ५, ११ मा ५, ८ मा ५ र वडा नं. ६ मा ५ क्षयरागी रहेका छन । वडा नं १० मा ४ जना, वडा नं. १२ मा ३, वडा नं. १७ मा ३ र वडा नं ४ मा ३ जना बिरामी रहेको जनस्वास्थ्य निरीक्षक पन्तले बताए ।
त्यस्तै,वडा नं. ९ मा २, वडा नं. १३ मा २ ,वडा नं. १८ मा २,वडा नं. ५ मा २,वडा नं. २ मा १ र वडा नं. ३ मा १ जना क्षयरोगी रहेको उनले बताए ।
लामो समय ज्वरो आउने,खोकी लाग्ने,राती पसिना सहित ज्वरो आउने,तौल घट्दै जाने खाना खान मन नलाग्ने,खकारमा रगत देखिने जस्ता लक्षण क्षयरागीमा देखिने गरेको उनको भनाइ छ । वडाहरुमा बर्षमा क्षयरोगीका बिरामी पत्ता लगाउन खोजपड्ताल शिविर पनि आयोजना गरिँदै आएको उनले बताए ।














