धनगढी । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइएको छ ।
विश्वविद्यालय सञ्चालनार्थ गठित सङ्घर्ष समितिले आज मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो । सो क्रममा मन्त्री पौडेलले विश्वविद्यालयको भौतिक पूर्वाधारको स्थलगत अवलोकन गरेका छन् ।
हाल ५० बेडको अस्पताल सञ्चालन रहेको गेटामा लगत्तै ३०० सय बेड सञ्चालन गर्न सरकार तत्पर रहेको मन्त्री पौडेलको भनाइ छ । अरू प्रदेशमा एमबीबीएस पढाइ हुने तर सुदूरपश्चिममा किन नहुने भन्दै आफै प्रतिप्रश्न गर्दै मन्त्री पौडेलले कार्यविधि संशोधन गरेर भएपनि आउँदो आर्थिक वर्षदेखि एमबीबीएस तहको पढाइ सञ्चालन गर्ने बताए ।
सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले संघीय राज्य सत्ताबाट पटक पटक सुदूरपश्चिमवासीप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय पनि परेकोले सुदूरपश्चिमवासी दशकौंदेखि सङ्घर्षरत रहेको उल्लेख गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई गेटा पठाएर भएपनि तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने दाबी गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गेटाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम०को तयारी थालिएको बताए। तर, नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको मन्त्री पौडेलले बताए। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम०को काम हुँदै गर्ने र नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकलाई चाँडै गेटा पठाउने मन्त्री पौडेले बताए।














