धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले राति १० बजेपछि घरबाहिर ननिस्कन आग्रह गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै रातिको समयमा केही व्यक्तिले आतङ्क फैलाई रहेका कारण १० बजेपछि घरबाहिर ननिस्कन नगरबासीहरुलाई आग्रह गरेको हो ।
‘नगरपालिकाका विशेष गरी वडा नं.१, २, ४, ६ र ८ का विभिन्न स्थानमा केही दिनदेखि रातिको समयमा स्थानीयबासीहरुको घर, गोठ, परालमा अज्ञात समूहद्वारा आगो लगाउने, चोरी गर्ने जस्ता आपराधिक क्रियाकलापहरू गरी गाउँ टोलमा आतङ्कित बनाउने गरेको र सो कार्यबाट समाजमा त्रासको वातावरण सृजना गर्ने कार्यहरू बढी रहेको भन्ने गुनासो आइरहेकोले त्यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई कानुन अनुसार कारबाहीको लागि नजिकको सुरक्षा निकायमा जानकारी गराऔँ’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ‘साथै रातिको समयमा सावधानी अपनाउन र अति आवश्यक काम बाहेक १० बजेपछि बाहिर ननिस्किन हुन जानकारी गराइन्छ ।’
त्यस्तै नगरपालिकाले शुभ कार्यमा समेत राति १० बजेपछि बाजा बजाउन र हिँडडुल गर्ने काम नगर्न भनेको छ ।














