धनगढी । कैलालीको धनगढीस्थित नवजीवन अस्पताल प्रालिबाट एक वर्षमा ४८ हजार नौ सय ५३ जना बिरामीले उपचार सेवा लिएका छन् ।
निजी स्तरको लगानीबाट सञ्चालित सो अस्पतालबाट एक वर्षमा विभिन्न रोगका उक्त बिरामीले उपचार सेवा लिएका हुन् ।
अस्पतालको १९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले बहिरंगबाट ३२ हजार १ सय ८८ जनाले,अन्तरंगबाट ५ हजार ६ सय ९७ र ईमरजेन्सीबाट ४ हजार ४९ जना बिरामीले सेवा लिएको जानकारी दिए ।
उनले एक वर्षको अवधिमा १ हजार ५ सय ३९ जनाले निःशुल्क सुत्केरी सेवा, २ हजार ९ सय ६६ बालबालिकाले निःशुल्क खोप सेवा लिएका र अस्पताल भित्र तथा विभिन्न स्थानमा सञ्चालित स्वास्थ्य शिविर मार्फत २ हजार ५ सय १४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको जानकारी दिए ।
अस्पतालले विभिन्न १७ वटा सेवा दिँदै आएको बताउँदै उनले अस्पतालमा २५ जना विशेषज्ञसहितका चिकित्सकबाट सेवा दिइँदै आएको बताए । त्यस्तै नेपाल सरकारबाट सञ्चालित आमा सुरक्षा कार्यक्रम,निःशुल्क खोप, निःशुल्क क्षयरोग औषधी वितरण रसामाजिक सुरक्षा कोष (स्वास्थ्य उपचार केन्द्र) का सेवाहरु प्रदान गरिँदै आएको उनले बताए ।
विसं. २०६२ साल फागुन १७ गते १५ शय्याको अस्पतालको स्वीकृती लिई सञ्चालन हुँदै आएको अस्पताल हाल १ सय शय्यामा स्तरोन्नति गरेको छ उनले बताए ।
अस्पतालले आफ्नै लगानीमा अस्पताल प्राङ्गणमा अक्सिजन प्लान्ट समेत स्थापना गरिसकेको उनले बताए । मार्क इन्टरनेशल किड्नी सेन्टर, काठमाडौं सँगको सहकार्यमा अस्पताल प्राङ्गण भित्रनै १० शय्याको डाईलासिस सेवा सञ्चालनमा रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै बिरामीलाई फलफूल वितरण समेत गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा.विदुरमणि ढकालले जनाकारी दिए । त्यस्तै,अस्पतालले ट्राफिक प्रहरीलाई ३० वटा साना डिभाइडर हस्तान्तरण गरेको उनले बताए ।














