धनगढी । कैलालीको विकट चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । असार १० गते गाउँसभामा प्रस्तुत गरेको बजेट शनिबार पारित भएको गाउँपालिकाका सूचना अधिकारी कालीप्रसाद भट्टले बताए ।
असार १० गते सार्वजनिक भएको ५२ करोड ८७ लाख ९७ हजार रुपैयाँको बजेट को ७० दशमलव ०४ अर्थात ३७ करोड २२ लाख ५८ हजार रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको छ ।
गाउँपालिकाको १७ औँ गाउँसभाबाट आगामी वर्षको नीति, कार्यक्रमसहित बजेट प्रस्तुत गर्दा पुँजीगत खर्चतर्फ भने १५ करोड ६५ लाख ३८ हजार पाँच सय रुपैयाँ अर्थात् २९ दशमलव ६ प्रतिशत मात्र रकम विनियोजन गरेको छ ।
बजेट स्रोतको विवरण अनुसार संघीय सरकारबाट समानीकरण अनुदान वापत १० करोड ४४ लाख, संघीय राजस्व बाँडफाँडबाट १४ करोड ६८ लाख, संघीय समपूरक अनुदानबाट ७१ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ५४ लाख, संघीय विशेष अनुदानबाट ८० लाख प्राप्त हुने बजेटमा उल्लेख छ ।
त्यसैगरी प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४१ लाख ५३ हजार, समानीकरण अनुदानबाट ८४ लाख ९४ हजार, सशर्त अनुदानबाट ५५ लाख, समपूरक अनुदानबाट १ करोड, आन्तरिक राजस्व बाँडफाँडबाट १ करोड ९४ लाख ५० हजार र चालु वर्षको मौज्दात रकम ७५ लाख रहने अनुमान गरिएको छ ।
गाउँपालिकाले बजेटमार्फत चालु खर्चको तुलनामा विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई कम प्राथमिकतामा राखिएको छ ।













