कैलाली । कैलालीको कैलारी गाउँपालिकाका कृषक सनोज चौधरी आजभोलि माछापालन व्यवसायमा जमेका छन् । १० लाख लगानीमा २०७८ सालमा दश कठ्ठा जमिनबाट उनले व्यवसाय सुरु गरेका थिए ।
अहिले उनी सो व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन् । सिजनमा १३ लाख ५० हजारको माछा बिक्री गर्ने गरेको उनले बताए । ’व्यवसाय सुरु गरेको ५ लट जति भयोे आम्दानी राम्रो भइरहेको छ’ उनले भने ’एक लटमा माछाको चारामा ९ लाख रुपैयाँ खर्च हुन्छ। सबै खर्च कटाएर २ लाख ५० हजार बचत हुने गर्छ ।’
भारतबाट मरेको माछा नेपाल आउन थालेपछि आफ्नै देशमा ताजा र स्वच्छ माछा ग्राहकलाई उपलब्ध गराउने उदेश्यले व्यवसाय सुरु गरेको उनले बताए । पंगशेष जातको माछा ग्राहकले बढी रुचाउने गरेको र यो जातको भुरा नेपालमा नपाइने भएकाले भारतबाट ल्याउनु परेको उनले बताए ।
कमनकार लगायतका भुरा गेटास्थित मत्स्य विकास केन्द्रबाट ल्याउने गरेको उनले बताए । एक सिजनमा पूरै घाटा भयो । करिब ४० क्विन्टल माछा म¥यो । त्यतिखेर व्यवसाय गरौँ की नगरौँ जस्तो भएको थियो’,उनले भने ‘बिचलित हुनु हुँदैन । किन छोड्ने भन्ने लाग्यो । अरुले पनि नछोड्न सुझाव दिए । त्यसपछि व्यवसाय छोेडिँन अहिले राम्रो भइरहेको छ ।’
उनले भने ‘काम गर्दा समस्या हुन्छ, तर बिचलित हुनु हुँदैन रहेछ । मेहनतको प्रतिफल पाइने रहेछ । घाटा लाग्यो भन्दैमा मैले यो व्यवसाय छोडेको भए असुल त परको कुरा हो लगानी सबै डुबेर जाने थियो ।’
माछा पोखरी निर्माणमा एक लाख अनुदान भेटेरिनरीबाट पाएको उनले बताए । गाँउपालिकाबाट मोटर,जाल, बोरिङ्गका लागि ५० हजारको अनुदान पाएको उनको भनाइ छ । गत वर्ष करिब १३ लाख ५० हजारको माछा बिक्री गरेको र खर्च कटाएर ३ लाख बचत भएको उनले बताए । खुला सीमा नाकाका कारण भारतीय सीमाबाट नेपालमा माछा आयात हुनुले यहाँका व्यवसायी मारमा पर्ने गरेको उनले बताए ।
‘उताबाट सस्तोमा आउँछ, नेपालका व्यवसायीले मूल्य पाउँदैनन् । भारतबाट आएको माछाको होलसेल मूल्य प्रतिकिलोको २२० र फुटकर ३ सय हुन्छ , हामीले उत्पादन गरेको माछा थोकमा २५० र फुटकर २८० हुन्छ ।’ नेपालमा उत्पादन माछाभन्दा भारतबाट आएका माछाको रेट सस्तो हुँदा बिचौलियाले कृषकलाई समस्यामा पारेको उनले बताए ।
उनीहरु नेपालमा माछा उत्पादन नहुने सिजनमा महङ्गोमा बिक्री गर्ने गरेको उनले बताए । चोरी पैठारीबाट आउने माछालाई नेपाल सरकारले कडाई गर्नुपर्ने उनको भनाइ छ । आफूले उत्पादन गरेबो माछा धनगढी,टिकापुर, बर्दिया,राजापुर,स्थानीय बजारमा खपत हुने गरेको उनले बताए ।
यो सिजनमा १३ हजार भुरा पोखरीमा हालिएको र ६० क्विन्टल उत्पादन हुने अनुमान रहेको उनको भनाइ छ । उनले यसबाहेक अन्य काम नभएको बताउँदै उनले साढे ३ बिगाहमा धान खेती लगाएको बताए । १० जनाको परिवारको घरखर्च बालबालिकाको पढाइलेखाइ खर्च माछा व्यवसायबाट नै चल्ने गरेको उनले बताए ।














