काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–१० सिस्नेपुलस्थित सडकमा ना.५ ख ८४१७ नम्बरको ट्रकले लु.५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक कावासोती नगरपालिका–३ बस्ने ५२ वर्षीय दलबहादुर सुनार बिक र ट्रक चालक बारा परवानीपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रिजवान मिँया रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङस्थित सडकमा ग.१ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक बाग्लुङ निसीखोला गाउँपालिका–५ बस्ने ३० वर्षीय शेर बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो ।
प्युठान, झिमरुक गाउँपालिका–८ गब्दीस्थित सडकमा लु.१ ख ८८३७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय रामु गिरीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको हरिवन नगरपालिका-२ पाकड गाछीस्थित सडकमा म.प्र.०२–००८ प २७५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–२ अत्रौली टोल बस्ने जितेन्द्र महतोको छोरा २ वर्षीय रियान्स महतोको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवनको रत्ननगर नगरपालिका–५ ज्वाँनीस्थित सडकमा ग.प्र.०३–०३७ प ८९५१ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने ४८ वर्षीय राजु उदासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित सडकमा लु.४६ प ८२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–१४ तीनधुरा बस्ने २० वर्षीय खेम भुसालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(३ जलुवाटोलस्थित सडकमा मे.१ ख १७९९ नम्बरको बस र प्र.२–०१–००१ ज ००४७ नम्बरको विङगर गाडी एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सप्तरी घर भएका ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदा तथा हाल नाम, थर र वतन नखुलेकी ४० वर्षीया महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शंकर समेत ३ जनाको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा तथा १ जना महिलाको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













