धनगढी । कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक आक्रमणमा मारिएका भरत चौधरीको शव आफन्तले बुझेका छन्।
धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय चौधरीको शव आज आफन्तले बुझेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू राख्दै यसअघि मृतकका परिवारले शव बुझ्न मानेका थिएनन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहितको छलफल पछि मृतकका आफन्त शव बुझ्न तयार भएका हुन् । छलफलपछि जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवारले जाहेरी पनि दिएका छन्।
लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा हत्या भएको थियो। कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए।















