खानीडाँडा । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडाका नरबहादुर तामाङ राजनीतिसँगै कृषि व्यवसायमा क्रियाशील रहँदै आएका छन् । तामाङ नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ५ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष निर्वाचित भएर पनि उनी त्यति बेलादेखि नै कृषि व्यवसायमा क्रियाशील थिए । उनले आफ्नो वडाध्यक्षको पाँच वर्षे कार्यकाल सफलता पूर्वक बिताएका थिए । उनी पाँच वर्षे वडाध्यक्षको कार्यकालपछि २०७९ मा गाउँपालिकाको अध्यक्षका दाबेदार थिए । तर उनले टिकट पाएनन् ।
तर पनि उनले एमालेबाट टिकट पाएका वडाध्यक्ष र गाउँपालिकाको अध्यक्षलाई जिताउन क्रियाशील भएर लागि परे । तर अहिले उनी एमाले पार्टीको कुनै भूमिकामा नरहेपनि पार्टीका हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।
२०५० सालदेखि एमालेको राजनीतिमा होमिएका तामाङ वडा सचिव, गाउँ कमिटी उपसचिव, गाउँ कमिटी उपाध्यक्षसँगै समाज सेवामा क्रियाशील भएर काम गरेको अनुभव छ ।
राजनीतिलाई समाज सेवाको रुपमा लिने तामाङ अर्थाेपार्जनसँग जोडिनुपर्छ भनेर कृषि व्यवसायसँग जोडिएको बताउँछन् । उनी १० वर्ष शुक्र माध्यमिक विद्यालय व्यवस्थापन समिति, १० वर्षदेखि जनकल्याण कृषि सहकारी र जनकल्याण सामुदायिक वनको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

जनतालाई कृषिसँग जोड्नुपर्छ भनेर उनले जनकल्याण कृषि सहकारीको स्थापना गरेको बताउँछन् । सो सहकारीमार्फत स्थानीय कृषकलाई बेमौसमी तरकारीखेती तर्फ आकर्षित गराएर आत्मनिर्भरको बाटोमा लगाएका छन् ।
तामाङले अहिले आएर बेमौसमी तरकारी खेती, लोकल कुखुरापालन, भैसीपालन र बाख्रापालन व्यवसायलाई अघि सारेका छन् । उनले तरकारी खेतीबाट एक लाख ५० हजार, बाख्रापालनबाट एक लाख ४० हजार, कुखुरापालनबाट बार्षिक एक लाख भन्दा बढीको आम्दानी गर्दै आएको बताए ।

उनले पछिल्लो समयमा भारतीय तरकारीका कारण तरकारीले उचित मूल्य पाउन नसकेको गुनासो गरे । आर्थिक मन्दी लगायतका कारणले पनि होला पछिल्लो पटक स्थानीय किसानले उत्पादन गर्दै आएको कृषिजन्य बस्तुले उचित बजार पाउन नसकेको उनले बताए ।















