धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका बरामद गरेको छ ।
कैलालीको भजनी नगरपालिका–५ कालापातल तथा पगियापसार कालिका मन्दिर नजिक प्रहरीले बेवारिसे अवस्थामा विभिन्न सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले अन्दाजी एक लाख ७३ हजार पाँच सय रुपैयाँ बराबरका कीटनाशक औषधि, एउटा साइकल लगायतका सामान नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–६ भुराकोट क्षेत्रमा समेत प्रहरीले भन्सार छली गरि ल्याएका अन्दाजी दुई लाख ३४ हजार बराबरका प्याज, पेय पदार्थ, विभिन्न किसिमका कपडा, हार्डवेयर तथा किराना सामान नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका गस्ती टोलीले बरामद गरेका उक्त सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।















