गोदावरी । गाँस,बास र कपासको उचित व्यवस्थापनको पर्खाइमा ५ परिवार गोदावरीको सडक किनारामा बस्दै आएका छन् ।
आर्थिक अवस्था कमजोर भइ तराई झरेका ५ परिवार गोदावरीको सडक किनारमा उचित व्यवस्थापनको पर्खाइमा बस्दै आएका हुन् ।
दुःख कष्ट सहेर गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडा नजिकको सडक किनारामा ती परिवार वेवारिसे बसिरहेका हुन् । उनीहरु सबै डडेल्धुराबाट यहाँ झरेका हुन् ।
आर्थिक अवस्था कमजोरका कारण पहाडमा खान लाउन नपुग्ने भएपछि तराईतिर झरेको डडेल्धुरा उग्रताराबाट यहाँ आएकी पूर्वादेवी ताम्राकारले बताइन् । उनले भनिन् ‘म एकल महिला पनि हुँ । श्रीमानको मृत्युपछि आर्थिक संकटका कारण खान लाउन समस्या हुन थाल्यो । सरकारले गाँस,बास कपासको व्यवस्थापन गरिदिन्छ की भनेर तराई आएकी हुँ ।’

यहाँ बसेको ५ बर्ष जति भएको तथा कसैबाट सहयोग नभएको उनले बताइन् । उनले भनिन् ‘पहाडतिर पनि सुकुम्बासी भएर बसिरहेकी थिए । यहाँ पनि सडक किनारमै बसेर दिन गुजारा गर्नु परेको छ ।’
उनले भनिन् ‘वर्षातमा पानीले डुवाउँछ,सर्प र लामखुट्टेको जोखिम त्यत्तिकै छ । दुःख धेरै छ । किन र कसरी बसिरहेका छौ ? के चाहियो ? भनेर कसैले पनि सोधिखोजी गर्दैनन् ।’ उनले प्रश्न गर्दै भनिन् ‘सरकार त होला नी हजुर खोइ त हामी जस्ता नागरिकको खोजी गरेको ?’
डडेल्धुराको नवदुर्गा गाउँपालिका– ४ वेलापुरबाट यहाँ आएर बसेकी कलावती लुहार विकले गाँस,बास,कपासको आशामा बसेको ५ बर्ष वित्न थालेको बताईन् । कसैले सहयोग नगरेको दुःखेसो गरिन् ।

‘पहाड छँदा ७ बर्ष अर्काको घरमा बसे तराई आउँदा सडक किनारमा बसेर सहयोगको भीख मागिरहेकी छु’ उनले भनिन् ‘आँधीहुरी आउँदा कटेरो उडाएर लग्छ । वर्षातमा पानीले डुवाउँछ । खान लाउन समस्या हुने नै भयो । दिनभरी काम गरेर गुजारा त चलेको छ ।’
सरकारले गाँस,बास र कपासको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरु सबैको एउटै माग छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बीरेन्द्र भट्टले अव्यवस्थित बसोवास, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न भूमि सम्बन्धी आयोग गठन भएको बताए । नगरपालिकाले पनि त्यस्ता नागरिकको व्यवस्थापनका लागि ५ पटक सूचना आह्वान गरिसकेको उनले बताए ।
कोही छुटेका छन् भने अन्तिम पटक फेरी सूचना जारी गर्ने तयारी भइरहेको उनले बताए । उनले भने ‘नेपालभरी ३ पुस्तासम्म पनि जमिन नभएका व्यक्तिको हकमा सरकारले जग्गा उपलब्ध गराउने व्यवस्था छ । यदी त्यस्ता कोही नागरिक छन् भने हामी कहाँ आउन अनुरोध गरे ।’















