धनगढी । पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक पर्वको रुपमा रहेको अटवारी पर्व आज मनाइँदै छ ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अटवारी पर्व मनाइन्छ ।
अटवारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व रहेको थारु संस्कृतिका जानकार बताउँछन । तर, थारु समुदायका महिला पनि अटवारी ब्रत बस्ने गर्दछन् ।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अटवारी पर्व मनाउने गरेका छ्न । थारु समुदायको माघीपछिको यो दोस्रो प्रमुख सांस्कृतिक तथा सामाजिक पर्व हो ।
‘अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ’ धनगढी उपमहानगरपालिका-१५ का पूर्व वडाध्यक्ष रतिराम चौधरीले भने ‘आइतबार (आज) ब्रत बस्ने गरिन्छ । साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा अन्डिक रोटी, खुर्मा पकाएर अटवारी पूजा गर्ने गर्दछन् ।’
अटवारी पूजामा अन्डिक रोटी, काँक्रो, दही, केरा, अम्बालगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको उनले बताए ।
अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्व भलमन्सा टेकराज चौधरीले बताए ।
अट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले अटवारी पर्वमा अवसरमा आज सार्वजनिक विदा दिएको छ ।















