धनगढी । पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक पर्वको रुपमा रहेको अटवारी पर्वको चहलपहल घट्दै गएको छ । पछिल्लो समय कैलालीका थारु गाँउमा अटवारी पर्वको चलपहल घट्दै गएको हो ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अटवारी पर्व मनाइन्छ । यो बर्ष आजको दिन यो पर्व परेको छ । विगत वर्षहरुमा धुमधामका साथ मनाइने यो पर्वको यसपाली भने कैलालीका थारुबस्तीमा खासै चहलपहल देखिएन् ।
कैलारी गाउँपालिका–३ मोहनपुर बस्ने भलमन्सा शीतलप्रसाद डगौराले पछिल्लो समय अटवारीको रौनक घट्दै गएको बताए । उनले भने ‘अधिकांश थारुहरु कृश्चियन धर्ममा लागेका कारण यो पर्वमा केही असर परेको छ । अनदी धान पनि पाइन छोड्यो र रोजगारीका लागि धेरै युवाहरु भारत जानुले पनि यो पर्वको चहलपहल घट्दै गएको छ ।’

उनले भने ‘यो गाउँमा ९५ घरधुरी छन् । त्यसमध्ये २० घरपरिवार कृश्चियन धर्ममा लागेका छन् ।’ उनले भने ‘हुनेखानेको घरमा कहि कतै यो पर्वको चहलपहल हुन सक्छ । जस्को घरमा यो पर्व मनाउने सबै सामाग्री उपलब्ध छ ।’
त्यस्तै धनगढी –१५ का पूर्व वडाध्यक्ष रतिराम चौधरीले पनि पछिल्लो समय अटवारीको चहलपहल घट्दै गएको बताए । यसपाली त्यत्ति चहलपल नभएको उनले बताए ।

अटवारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व रहेको थारु संस्कृतिका जानकार बताउँछन । तर, थारु समुदायका महिला पनि अटवारी ब्रत बस्ने गर्दछन् ।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अटवारी पर्व मनाउने गरेका छन । थारु समुदायको माघीपछिको यो दोस्रो प्रमुख सांस्कृतिक तथा सामाजिक पर्व हो ।
अटवारी पूजामा अन्डिक रोटी, काँक्रो, दही, केरा, अम्बालगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको जानकारहरु बताउँछन् ।
अटवारी पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।















