धनगढी । धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला २०८२ को आयोजना गर्ने भएको छ । सीप मेला आगामी माघ ५ देखि फागुन १२ गते सम्म धनगढी खुला मञ्चमा सञ्चालन हुने भएको छ ।
गत बर्ष ८ विधाका २९ वटा सेक्टरमा रोजगार मेला आयोजना गरेको उपमहानगरपालिकाले यस बर्ष ७ विधाका २२ सेक्टरमा गर्ने जनाएको छ । सीप मेलामा ९ वटै जिल्लाबाट अनलाइन तथा अफलाइन माध्यमबाट आवेदन दिन सकिने उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए ।
सीप मेला ३० दिनसम्म सीप विकास र बाँकी १० दिन परामर्श सम्बन्धि कार्यशाला र रोजगार मेला सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत खातीले बताए ।
रोजगार मेलामा अटो मोबाइल, आइसीटी, हस्पिटालिटी, शैक्षिक र सर्भिस तथा आर्ट, क्राप्ट डिजाईनिङ, निर्माण,मेकानिकल,इभि गाडी मर्मत, फोटो ग्राफी तालिम सञ्चालन गरिने उनले बताए ।
त्यस्तै,ड्रोन अपरेशन, डिजिटल मार्केटिङ, मास्टफुड, पुरोहित, एडभान्स व्युटिसियन, बेतबाँस हस्तकला, सांस्कृतिक पोशाक,बुटिक तथा कढाई, प्लबिङ, मोबाइल मर्मत लगायतका तालिम प्रदान गरिने जनाइएको छ ।
गत वर्ष मेलामा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट करिव ५ हजारको आवेदन परेका थिए । जसमध्ये १ हजार ४० जनालाई मेलामा सहभागी गराइएको थियो । रोजगार मेलामा सहभागि मध्ये हाल ४७ प्रतिशत रोजगारमुलक रहेको धनगढी उपमहानगरका उप्रमुख कन्दकला रानाले बताइन् ।
यस वर्ष आयोजना हुने मेलामा उमहानगरपालिकाको १ करोड ५९ लाख बजेट रहेको र बाँकी रकमका लागि विभिन्न निकायसंग समन्वय गरिरहेको जनाएको छ ।













