धनगढी । कैलालीको टीकापुर नगरपालिका–१ मा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले मेन्था तेल उत्पादन गर्दै आएको छ ।
३ हेक्टर जग्गामा रहेको कम्पनीले तेल उत्पादन सँगै मेन्थाको बीउ समेत उत्पादन गर्दै आएको छ । यस वर्ष कम्पनीको ५ हजार केजी मेन्था तेल उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका उपप्रबन्धक कमलराज बेलबासेले बताए ।
स्थानीय किसानलाई मेन्था खेतीप्रति आकर्षण बढाउन बीउ उत्पादन गरेर लागत मूल्यभन्दा न्युन मूल्यमा बिक्री वितरण गर्ने गरेको उनले बताए ।
उनले कम्पनीले २ हेक्टर जग्गामा मेन्था नर्सरी बनाएको बताउँदै सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका किसानले समेत बीउ लैजाने गरेको बताए ।
उनले एक केजी मेन्थाको बीउ उत्पादनमा ८५ रुपैयाँ लागत लाग्ने भएपनि किसानलाई प्रतिकेजी १२ रुपैयाँमा विक्री गर्ने गरेको बताए । त्यस्तै,कम्पनीले किसानलाई मेन्थाखेतीका लागि निःशुल्क प्राविधिक सहयोग समेत गर्दै आएको बताए ।
गत टीकापुर क्षेत्रमा २ सय ५० किसानले मेन्थाखेती गरेको उनले बताए । ८० हेक्टरमा स्थानीय स्तरमा मेन्था खेती हुने,५ हजार केजी उत्पादन हुने गरेको र मेन्था तेल निकाल्न र खरिद गर्न कम्पनीले ग्यारेन्टी लिने उनले बताए ।
उनले किसानले ल्याएको मेन्था कम्पनीले निःशुल्क प्रशोधन गर्ने गरेको तथा नेपाल सरकारले तोकेको मूल्यमा खरिद गर्ने गरेको उनले बताए ।
उनले कम्पनीले गुणस्तरीय मेन्था तेल उत्पादन गरेर केन्द्रीय कार्यालय कोटेश्वरबाट सञ्चोलगायतका हर्वल तेल उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको बताए ।
उनले मेन्थाको खेती विस्तार हुन नसकेको बताउँदै यसका लागि सिचाइको समस्या हुने गरेको बताए । किसानले प्रतिकठ्ठा ४ केजीका दरले मेन्था उत्पादन गर्न सक्ने बताउँदै माघ १५ देखि फागुन १५ सम्म मेन्था रोप्नु पर्ने उनले बताए । हाल कम्पनीमा १८ जनाले रोजगारी समेत पाएको उनले बताए ।















