धनगढी । भोलि (सोमबार)देखि सुरु हुने सुदूरपश्चिम महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको हो ।
आयोजक कैलाली उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारीका बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पुष्करराज ओझाले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउने बताए ।
उनले यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्न महोत्सव उपलब्धि मुलक हुने विश्वास व्यक्त गरे ।
उनले महोत्सव अनुमानित ३ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न हुने तथा महोत्सवमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको बताए ।
महोत्सवमा कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि ५ सय बढी स्टलहरु रहने उनले बताए ।
महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको र यस वर्षको महोत्सवमा करिव ७ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।
महोत्सवको उद्घाटनअघि ट्राफिक चौराहदेखि बाँजा गाजा झाँकीसहित ¥याली निकाल्ने कार्यक्रम रहेको उनले बताए । महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको खुला मैदानमा आयोजना हुने जनाइएको छ ।
संघले २०६३ सालदेखि धनगढीमा आयोजना गरिरहेको सुदूरपश्चिम महोत्सवको यो १९ औं संस्करण हो । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने,महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु.५० टिकटदर राखिएको,सर्वसाधारणलाई रु.१०० राखिएको तथा जेष्ठ नागरिक र अपांगता भएकालाई महोत्सवमा प्रवेश निःशुल्क गरिने आयोजकले जनाएको छ । महोत्सवको अर्थमन्त्री रामेश्वर खनाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
















