धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन । शाह आज बिहान धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन ।
मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीढको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार गर्दा पनि अवस्था सुधार नआएपछि उनी काठमाडौँ गएका थिए । काठमाडौँमा पनि पूर्णरूपमा निको नभउपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि नयाँ दिल्ली जाने निर्णय गरिएको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहको उपचार नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा हुने जनाइएको छ । उनी दिल्ली प्रस्थानसँगै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको जनाइएको छ ।















