कैलाली । धनगढी उपमहानगरपालिका १४ एचगाँउ बस्ने ३६ बर्षिया भावना पुलामीमगर दुनाटपरी उधोगबाट मासिक एक लाख बढीको कारोवार गर्ने गरेकी छन् ।
धनगढी उपमहानगरपालिका–१४ एचगाउँ बस्ने ३६ वर्षीया भावना विदेश जान तयार भएकी थिइन् तर आर्थिक अभावका कारण विदेश जान सकिनन् । अहिले उनले विदेशजस्तै स्वदेशमै कमाइ गर्न थालेकी हुन्। दुनाटपरीको कारोवार एक लाख बढी हुन्छ उनले भनिन् कामदारलाई तलब दिएर करिब मासिक ३० हजार बचत गर्छु ।

उनले भनिन् ‘खान,लाउन,बस्न र दुई छोराछोरी पढाउन समस्या थियो । आर्थिक अवस्था नाजुक भएका कारण मलेसिया जानका लागि पासपोर्ट बनाए । पैँसा थिएन, कम्पनीले जानका लागि ३ लाख लाग्छ भन्यो,जान सकिन ।’
‘२० जनाको समूहमा एक लाख ५० हजारको लगानीमा शानीडाँडा दुनाटपरी उद्योग सञ्चालनमा ल्यायौँ । त्यसपछि मेरो सफलता यहीबाट सुरु भयो’ उनले भनिन् । पहिले समूहमा उद्योग सञ्चालन गरे पनि अहिले एक्लैले उद्योग सञ्चालन गर्दै आएको उनले बताइन् ।
‘सबैले उद्योग छोड्दै गए पछि यो उद्योग आफ्नो काँधमा आयो । मैले सञ्चालन गरेको ८ वर्ष जति भयो । वर्षको १३ लाखको कारोवार हुने गरेको उनले बताईन् । उत्पादन गरेको दुनाटपरी अन्तराष्ट्रिय मेला समेत खपत हुने गरेको उनले बताईन् ।
उनका श्रीमान विदेशी भुमि साउदीमा रहेको उनी बताउँछिन् । उनले भनिन् ‘श्रीमान साउदी हुनुहुन्छ । दुई छोराछोरीलाई पढाई रहेकी छु । अरुलाई तालिम पनि दिइरहेकी छु । पैँसाको पनि कमी छैन ।’
‘पहिले घरको अवस्था नाजुक त छँदै थियो । बस्नका लागि घर थिएन, सानो झुपडी मात्र थियो’ उनले भनिन् ‘अहिले यही पेसाबाट भएको कमाईबाट ४ कोठे पक्की घर बनाएकी छु । मेहनत गर्न सके कामको खोजीमा विदेश जानु पर्दैन आफ्नै देशमा राम्रो गर्न सकिन्छ ।’
थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । दुनाटपरी सम्बन्धी ६२ जनालाई तालिम दिइसकेको बताउँदै उनले बर्दिया अछामबाट पनि काम सिक्न आउने गरेको बताइन् ।
उनले भनिन् ‘मबाट सिकेर गएका महिलाहरु राम्रो गरिरहेका छन् । दुनाटपरीको बजार छ । उत्पादन भएका दुना र टपरी पोखरासम्म खपत हुने गरेको छ ।
सुदुरपश्चिमको डडेल्धुरा,महेन्द्रनगर,झलारी अछाम,धनगढी लगायतका स्थानमा दुनाटपरीको खपत हुने गरेको उनले बताइन् । ‘मुख्यबजार भनेको पोखरा हो’ उनले भनिन् ‘एक पिस दुनाको एक रुपैयाँ र टपरीको तिन रुपैयाँ ९५ पैसामा बिक्री गर्ने गरेकी छु । प्याकिङ,फिनिसिङ मेसिन ल्याएकी छु ।
‘हामीले उत्पादन गरेको दुनाटपरीलाई आफैले प्याकिङ गरेर आफ्नै कम्पनीको छाप सहित विदेश पठाउँछु ’ उनले भनिन् ‘ कामको प्रतिफल पनि पाइने महंगोमा पनि बिक्री हुने गरेको छ ।’























