धनगढी । लागुऔषध न्यूनीकरणमा सबैको साझा पहल हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बढ्दो लागुऔषध : न्यूनीकरणका लागि साझा प्रयास’ विषयक बहसमा बोल्दै वक्ताहरुले लागुऔषध न्यूनीकरणका लागि घरिपरिवादेखि समाजले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका हुन् ।
लागुऔषध प्रयोगकर्ताको हिसाबले हेर्ने हो भने देशभरका १० जिल्ला मध्ये एक जिल्लाका रुपमा कैलाली पर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका मुद्दा शाखाका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए ।
उनले भने,‘खुला सीमा नाकाका कारण कैलालीमा लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् ।’ नेपालमा प्रतिवन्धित लागुऔषध भारतीय बजारमा खुलमखुला बेचबिखन हुँदा पनि त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका युवाहरुमा परिरहेको उनले बताए । उमेर समूहका हिसाबले १८ देखि ४० वर्षका युवा युवती लागुपदार्थ दुव्र्यसनीमा फसेका उनी बताउँछन् ।
उनले भने,‘घर समाजदेखि नियमन निकाय सबै उत्तिकै जिम्मेबार छौँं । हामी सबैको साझा पहलले मात्रै लागुऔषध नियन्त्रण हुन सक्छ । त्यसमा सबैले लाग्नुपर्छ ।’
कैलालीमा मात्रै विगत ४ वर्षको तथ्याङक हेर्दा लागू औषध दुव्र्यसनीका मुद्दा बढ्दै गएका देखिन्छन् । आर्थिक वर्ष २०७९/०८० मा लागुऔषध दुव्र्यसनीका ३ सय ४७ मुद्द जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । जसमा ५ सय २२ जनालाई मुद्दा चलाइएको थियो । ती मध्ये ४ सय ७३ पुरुष र ४९ जना महिला छन् । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ३ सय १५ मुद्दा चलाइएको थियो । मुद्दामा ४ सय २० जना पुरुष र २७ जना महिला थिए । आर्थिक वर्ष २०८१/०८२ मा ४ सय ६६ मुद्दा दर्ता भए भने ६ सय ३२ जना पुरुष र ३८ जना महिला विरुद्ध मुद्दा चलाइएको थियो । यस्तै चालू आर्थिक वर्षको अहिलेसम्म १ सय २२ मुद्दा दर्ता भएका छन् । मुद्दा मध्ये १ सय ६० पुरुष र ४ महिला छन् ।
कैलालीमा लागुऔषध दुव्र्यसनीको स्थिति डरलाग्दो रहेको सुदूरपश्चिम पुनस्र्थापना फाण्डेसनका सञ्चालक समीर मल्ल बताउँछन् । पहिलेको तुलनामा लागुऔषध प्रयोगकर्ता बढ्दै गएको बताउँदै उनले भने,‘साथी संगतकै कारण सबैभन्दा बढी लागुऔषध प्र्रयोगकर्ता बढिरहेका छन् ।’
युवायुवती लागुऔषध दुव्यसनीमा फस्नुमा मुख्य कमजोरी अभिभावकको रहेको बताउँदै उनले भने,‘अभिभावकसँगसँगै शिक्षक, समाजको पनि उत्तिकै कमजोरी छ ।’ अभिभावकले आफ्ना छोराछोरीको आनीबानी र संगतको हेरविचार गर्नु जरुरी रहेको उनी बताउँछन् ।
लागुऔषध सेवनको समस्या भनेको मनोरोग भएको निसर्ग हस्पिटलका मनोचिकित्सक डा. प्रभात सापकोटाले बताए । उनले भने,‘डिप्रेसन, इन्जिाइटी जस्तै लागुऔषध दुव्र्यसनी पनि मनोरोग हो, त्यसलाई मुद्दा चलाएर कारागार राख्नुपर्ने नभई उपचारको खाँचो हुन्छ ।’
लागुऔषध सेवन गर्नेहरुलाई गम्भीर खालको रोग भएकाले त्यसलाई औषधिकै माध्यमबाट उपचार गरिनु पर्ने उनी बताउँछन् ।
लागुऔषध न्यूनीकरणका लागि स्कुलदेखि नै प्रयास गरिनुपर्ने डा. सापकोटाले बताए । सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । मंगलबार बढ्दो लागुऔषध : न्यूनीकरणका लागि साझा प्रयास विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।















