धनगढी । कैलालीको धनगढीस्थित सहिदगेटमा केयरटेकर अस्पताल प्रालिको औपचारिक शुभारम्भ गरिएको छ । अस्पतालले आज पत्रकार सम्मलेलन गर्दै जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीले न्युन खर्चमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित केयरटेकर अस्पताल स्थापना गरिएको बताए ।
उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भइरहेका नागरिकलाई लक्षित गरी सरकारी अस्पतालसरहको उपचार खर्चमा निजी अस्पतालस्तरको सेवा उपलब्ध गराउने लक्ष्य रहेको स्पष्ट गरे ।
अध्यक्ष शाहीका अनुसार केयरटेकर अस्पतालमा हाल १०० शैयाको सुविधा सम्पन्न बेड क्षमता रहेको छ । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा ल्याइएको छ । जसमा सुरक्षित शल्यक्रियाका लागि आधुनिक संक्रमण नियन्त्रण प्रणाली जडान गरिएको उनले बताए ।
अस्पतालले २४ सैं घण्टा आपतकालीन सेवा उपलब्ध गराउनुका साथै जनरल मेडिसिन विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याएको उनले बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको टिम परिचालन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
साथै अस्पतालमा आउने बिरामीको रोग पहिचान, उपचार, औषधि तथा नियमित चेकजाँचलाई सहुलियतपूर्ण बनाउँदै बिरामी, चिकित्सक र अस्पतालबीचको सम्बन्ध सुदृढ बनाइने अध्यक्ष शाहीले बताए ।
भविष्यमा यही अस्पतालमार्फत अन्य अहेव,एचए तथा नर्सिङ कलेज सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । अस्पताल सञ्चालनकालागि ३० करोड लगानी गरिएको र निकटभविष्यमा एक अर्ब लागानी पुग्ने अध्यक्ष शाहीले बताए ।













