कैलाली । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भइसकेपछि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कैलाली क्षेत्र नं. ५ को संघीय निर्वाचन परिचालन मूल समितिले चुनावी अभियानमा सहयोग गर्ने पार्टीका नेता,कार्यकर्ता, समर्थक तथा मतदातालाई धन्यवाद ज्ञापन गरेको छ ।
समितिका संयोजक ओमप्रकाश पुन र सहसंयोजक दिनेशचन्द्र सुवेदीले संयुक्त सन्देश जारी गर्दै धन्यवाद ज्ञापन गरेका हुन् ।
देशको जटिल राजनीतिक परिस्थितिका बीच घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी परिणाम अपेक्षित वा अनपेक्षित जस्तो आए पनि लोकतान्त्रिक प्रक्रियाबाट आएको जनमतलाई सबै राजनीतिक पार्टीले स्वीकार गरिसकेको सन्देशमा उल्लेख छ । निर्वाचन प्रक्रियामा विभिन्न किसिमका चलखेल र अवाञ्छित आर्थिक गतिविधि भएको विषय पनि सबैले अनुभव गरेको समितिको भनाइ छ ।
‘विभिन्न प्रलोभन र प्रभावका बाबजुद पार्टीप्रति विश्वास व्यक्त गर्दै मत प्रदान गर्ने मतदातालाई विशेष धन्यवाद दिन चाहान्छौँ’ सन्देशमा भनिएको छ ।
प्रत्यक्षतर्फका उम्मेदवार प्रेमबहादुर आलेको व्यवस्थापन तथा परिचालन समितिको निर्णयअनुसार चुनावी प्रचारप्रसार अभियान व्यवस्थित, प्रभावकारी र मर्यादित रूपमा सञ्चालन गरिएको समितिले जनाएको छ । चुनावी अभियानका क्रममा मूल समितिको औपचारिक ६ र अनौपचारिक २ गरी आठ वटा बैठक बसेको जानकारी पनि दिइएको छ ।
उम्मेदवारहरूको प्रभावशाली उपस्थितिका कारण मतदाताबाट राम्रो सहयोग र समर्थनको आश्वासन प्राप्त भएको भए पनि निर्वाचनको अन्तिम चरणमा आएर परिणाम अनपेक्षित र अस्वाभाविक आएको समितिको धारणा छ । यसलाई पार्टीले गम्भीर आत्मसमिक्षाका साथ चुनौतीका रूपमा लिएको र आगामी दिनमा नयाँ संकल्पसहित जनतामा जाने निर्णय गरिएको बताइएको छ ।
त्यस्तै, पराजयपछि पनि उम्मेदवार प्रेमबहादुर आलेको अगुवाइमा आजदेखि निर्वाचन क्षेत्रका सबै वडामा कार्यकर्ता तथा मतदातालाई धन्यवाद दिन जाने कार्यक्रम तय गरिएको जनाइएको छ ।
आर्थिक कठिनाइका बाबजुद चुनावी परिचालन र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रत्यक्ष उम्मेदवार प्रेमबहादुर आले तथा वैचारिक,राजनीतिक र प्राविधिक प्रशिक्षणमा सहयोग पु¥याउने समानुपातिक उम्मेदवार गणेशबहादुर विश्वकर्माप्रति पनि समितिले आभार प्रकट गरेको छ ।













