कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने बताएका छन ।
बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन ल्याइने बताएका हुन । उनले प्रक्रियागत ढंगबाट सबै काम अगाडि बढिरहेको स्पष्ट पार्दै अस्पताल सञ्चालन सम्बन्धी विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे ।
मुख्यमन्त्री शाहले बलिया स्वास्थ्य चौकीबाट स्तरउन्नति भई १५ शैय्याको अस्पताल बनेको लम्कीचुहा नगर अस्पताल हाल ५० शैयाको अस्पतालको रुपमा स्तरोउन्नति भएको बताए ।
उनले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन र यसको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। साथै, अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने कुरा पनि उनले स्पष्ट पारे ।
यसैबीच, प्रदेश सरकारले लम्कीचुहा प्रदेशिक अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर बिष्ट सहित सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँरलाई नियूक्त गरेको छ ।























