काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलव्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।
बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।
उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ । शिक्षामा र स्वास्थ्यमा भएका प्रगतिलाई अपमानित र अवमूल्यन गरिँदै छ ।’
उनले भौतिक पूर्वाधार क्षेत्रमा भएको अभूतपूर्व विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गरिरहेको बताए ।
प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि र पुष्पलालको विचारअनुसार भएका परिवर्तनमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिएको बताए ।













