धनगढी । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव, शान्ति तथा आपसी विश्वास कायम राख्न आग्रह गरेका छन् ।
आज बसेको सर्वदलीय बैठकमा बोल्दैै उनले विपद् र संविधान निर्माणजस्ता राष्ट्रिय महत्त्वका विषयमा विगतमा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए ।
प्रचण्डले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अग्रसर हुन नसकेको भन्दै प्रश्नसमेत उठाए । सबै राजनीतिक दलबीच खुला संवाद तथा साझा सहमतिका आधारमा अघि बढ्नुपर्ने उनले धारणा राखे ।
उनले सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील भूमिका निर्वाह गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए । संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो ।
प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पार्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्र परिस्थितिलाई सहज बनाउन सकिने बताए । उनले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिइसकेको जानकारी दिए ।













