धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश दर्पण’ को दोस्रो अंकको विमोचन गरेका छन ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित विविध विषयवस्तु समेटिएको उक्त स्मारिकाको उनले विमोचन गरेका हुन ।
स्मारिकामा प्रदेश प्रमुखको संक्षिप्त जीवनी, सुदूरपश्चिम प्रदेशबारे उनका अनुभूति, प्रदेशको परिचय, प्रदेश प्रमुखको कार्यालयको परिचय, संवैधानिक तथा कानुनी व्यवस्था तथा कार्यालयबाट सम्पादन गरिएका प्रमुख कार्यहरूको विवरण समावेश गरिएको छ।
यसका अतिरिक्त प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएका विभिन्न विधेयकहरू, सन्दर्भ सामग्री तथा सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र पर्यटकीय स्थलहरूको परिचय पनि स्मारिकामा समेटिएको छ। साथै, हालसम्म सुदूरपश्चिम प्रदेशमा कार्यभार सम्हालेका सबै प्रदेश प्रमुखहरूको विवरणसमेत संग्रह गरिएको छ।
स्मारिकाको विमोचन गर्दै प्रदेश प्रमुख मियाले ‘सुदूरपश्चिम प्रदेश दर्पण’ अध्ययन सामग्रीका रूपमा समेत उपयोगी रहेको बताए ।
प्रदेश प्रमुखको कार्यालयबाट सम्पादन भएका गतिविधि तथा कार्यहरूबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले स्मारिका प्रकाशित गरिएको उल्लेख गर्दै उनले यसको प्रकाशनमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गरे ।













