धनगढी । कुनै समय धनगढीमा फिजियोथेरापीबारे धेरैलाई जानकारी थिएन । फिजियोथेरापी भनेको मालिस गर्ने विधि हो भन्ने बुझाइ थियो । त्यही समयमा फिजियोथेरापीलाई उपचारको वैज्ञानिक विधिका रूपमा स्थापित गर्ने उद्देश्यसहित सेवामा जुटेका फिजियोथेरापिस्ट अशोकमणि रिमाल अहिले न्युरोलोजिकल समस्याबाट पीडित बिरामी र विशेषगरी बालबालिकाको उपचारमा सक्रिय छन् ।
२०६५ मंसिर २८ गतेदेखि धनगढीमा फिजियोथेरापी सेवा सुरु गरेका रिमालले यस क्षेत्रमा १७ वर्षभन्दा बढी समय बिताइसकेका छन् । यस अवधिमा उनले दुईदेखि अढाइ लाखसम्म बिरामीलाई सेवा दिएको बताउँछन् । उनको अनुभवमा फिजियोथेरापी केवल शारीरिक अभ्यास गराउने विधि होइन, बिरामीको दैनिक जीवन सहज बनाउने र आत्मनिर्भरतातर्फ अघि बढाउने महत्त्वपूर्ण माध्यम पनि हो ।
रिमालले फिजियोथेरापीमा स्नातक अध्ययन पूरा गरेर धनगढीमा सेवा सुरु गरेका थिए । सुरुमा उनले डा. सुशील भण्डारीसँग सहकार्य गर्दै काम गरे । सन् २०१० मा न्युरो फिजियोथेरापीमा स्नातकोत्तर अध्ययनका लागि भारतको देहरादुन पुगे । सन् २०१२ मा अध्ययन पूरा गरेर फर्किएपछि पुनः आफ्नै क्लिनिक सञ्चालनमा ल्याए ।
त्यसपछि उनले करिब १२ वर्ष डा. भण्डारीसँगै न्यु सिटी पोलिक्लिनिकमा काम गरे । थप अवसर र अनुभवको खोजीमा मायामेट्रो अस्पताल पुगेका उनले त्यहाँ करिब चार वर्ष बिताए । यही अवधिमा सुदूरपश्चिममा पहिलोपटक फिजियोथेरापीमा केन्द्रित पुनःस्थापना सेवा सुरु गर्ने प्रयासमा उनी जोडिए । हसनपुरमा १५ शय्याको ‘न्युरोप्लास्ट फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन सेन्टर’ स्थापना गरियो । रिमालका अनुसार उक्त केन्द्र अहिले पनि सञ्चालनमा छ ।
करिब दुई वर्षयता भने उनी ‘अर्थोपेडिया’ नामबाट आफ्नै क्लिनिक सञ्चालन गरिरहेका छन् ।
यहाँ उनको मुख्य प्राथमिकता न्युरोलोजिकल समस्या भएका बिरामीको उपचार र पुनःस्थापना हो ।
रिमालको कामको प्रमुख क्षेत्र मस्तिष्क तथा स्नायु प्रणालीसँग सम्बन्धित समस्या भएका बिरामीको फिजियोथेरापी हो । पक्षाघात, ब्रेन स्ट्रोक र स्पाइनल कर्ड इन्जुरीजस्ता समस्याबाट प्रभावित वयस्कको उपचारमा उनी केन्द्रित छन् ।
बालबालिकामा भने न्युरोलोजिकल समस्यासँगै अर्थोपेडिक तथा अन्य शारीरिक विकाससम्बन्धी समस्याको उपचार गर्छन् । अटिजम भएका बालबालिकालाई पनि आवश्यकताअनुसार पुनःस्थापना सेवामा समेट्छन् ।
विशेषगरी बालबालिकाको उपचारमा उनको उद्देश्य शारीरिक अभ्यास गराउनुमा मात्रै सीमित छैन । उनीहरूलाई दैनिक क्रियाकलापमा सहज बनाउने, आफ्नो क्षमताअनुसार आत्मनिर्भर हुन सहयोग गर्ने र समाजमा घुलमिल हुने वातावरण तयार गर्न फिजियोथेरापीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको विश्वास छ ।
‘बालबालिकालाई थेरापीमार्फत उनीहरूको क्षमताको विकास गर्न र अरू बालबालिकासँगै समाजमा घुलमिल हुन सहयोग गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ रिमाल भन्छन् ।
न्युरोलोजिकल समस्याबाट प्रभावित व्यक्तिको सुधारमा समय र निरन्तर अभ्यास महत्त्वपूर्ण हुने उनको अनुभव छ । यस्ता बिरामीको उपचारमा तत्काल परिणाम खोज्नुभन्दा पनि उनीहरूको अवस्थाअनुसार क्रमिक सुधारका लागि काम गर्नुपर्ने उनी बताउँछन् ।
फिजियोथेरापी मालिस मात्रै होइन
धनगढीमा सेवा सुरु गर्दाको समय सम्झँदै रिमाल भन्छन्, ‘त्यतिबेला मानिसहरू फिजियोथेरापी भनेको मालिस हो भन्ने ठान्थे । अहिले विस्तारै यसको महत्त्व बुझ्न थालेका छन् ।’
उनका अनुसार फिजियोथेरापी शारीरिक अभ्यास, थेरापिस्टको हातबाट गरिने उपचार विधि र आवश्यकताअनुसार विद्युतीय उपकरणको प्रयोगमार्फत बिरामीको शारीरिक कार्यक्षमता सुधार गर्ने विधा हो । यसभित्र अर्थोपेडिक, न्युरोलोजिकल, स्पोर्ट्स र कार्डियक फिजियोथेरापीलगायत विभिन्न क्षेत्र पर्छन् ।
फिजियोथेरापीको आवश्यकता रोग र बिरामीको अवस्थाअनुसार फरक हुन्छ । हाडजोर्नी तथा मांसपेशीसँग सम्बन्धित कतिपय समस्यामा दुईदेखि छ हप्तासम्मको उपचारले सुधार आउन सक्ने भए पनि न्युरोलोजिकल समस्यामा लामो समयसम्म पुनःस्थापना आवश्यक पर्न सक्छ ।
मस्तिष्कमा क्षति पुगेपछि त्यससँग सम्बन्धित कार्यक्षमता सुधार्न निरन्तर अभ्यास, दोहोर्याएर गरिने क्रियाकलाप र व्यक्तिगत आवश्यकताअनुसारको उपचार महत्त्वपूर्ण हुने रिमाल बताउँछन् । मस्तिष्क तथा स्नायु प्रणालीको अनुकूलन क्षमता अर्थात् ‘न्युरोप्लास्टिसिटी’ को उपयोग गर्दै बिरामीलाई सकेसम्म दैनिक क्रियाकलापमा सक्षम बनाउने प्रयास गरिन्छ ।
‘न्युरोका बिरामीमा सुधारका लागि लामो समय लाग्न सक्छ। त्यसैले बिरामीले अभ्यासलाई निरन्तरता दिनुपर्छ। हामीले सिकाएको कुरा घरमा पनि नियमित रूपमा गर्न सके उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्छ,’ उनी भन्छन् ।
घरमै अभ्यास गर्दा खर्च घटाउन सकिन्छ
फिजियोथेरापी लामो समय गर्नुपर्ने भएकाले बिरामीका लागि खर्च व्यवस्थापन चुनौती बन्न सक्छ । तर, हरेक बिरामीले दैनिक रूपमा क्लिनिकमै आएर थेरापी गर्नुपर्छ भन्ने नरहेको रिमाल बताउँछन् ।
बिरामीको अवस्था र आवश्यकताअनुसार थेरापिस्टले घरमै गर्न मिल्ने अभ्यास सिकाउन सक्छन् । बिरामी वा परिवारका सदस्यले ती अभ्यास सही तरिकाले गर्न सकेमा नियमित क्लिनिक धाउनुपर्ने आवश्यकता घट्न सक्छ । आवश्यकताअनुसार बीचबीचमा थेरापिस्टसँग परामर्श लिन सकिने उनको भनाइ छ ।
‘बिरामीले अभ्यास राम्ररी सिकेर घरमा पनि नियमित गर्न सक्यो भने उपचार खर्चिलो हुँदैन । तर, हरेकपटक थेरापिस्टकै सहयोग लिनुपर्ने अवस्था भए खर्च बढ्न सक्छ,’ रिमाल भन्छन् ।
उनले धनगढीमा सेवा सुरु गर्दा एकपटकको फिजियोथेरापीका लागि एक सय रुपैयाँ लिने गरेका थिए । अहिले भने सेवा शुल्क न्यूनतम पाँच सयदेखि अधिकतम दुई हजार रुपैयाँसम्म रहेको उनी बताउँछन् । शुल्क बिरामीको समस्या, अवस्थाको जटिलता र उपचारमा लाग्ने समयअनुसार फरक हुने गरेको छ ।
न्युरोलोजिकल समस्यामा लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले खर्च पनि तुलनात्मक रूपमा बढी हुन सक्ने उनको अनुभव छ । यद्यपि, उपचारको अवधि र खर्च प्रत्येक बिरामीको अवस्थाअनुसार निर्धारण गर्नुपर्ने उनी बताउँछन् ।
फिजियोथेरापीलाई अन्य उपचार विधिभन्दा फरक बनाउने पक्षमध्ये बिरामीसँग बिताउने समय पनि एक भएको रिमालको अनुभव छ । एउटा बिरामीको थेरापीमा आधा घण्टादेखि डेढ घण्टासम्म लाग्न सक्छ । उपचारको प्रकृति र आवश्यकताअनुसार समय अझ बढी पनि हुन सक्छ ।
लामो समयसम्म एउटै बिरामीसँग काम गर्दा उसको शारीरिक अवस्था, सुधारको गति र दैनिक जीवनका कठिनाइ बुझ्न सहज हुने उनी बताउँछन् । यही क्रममा बिरामी र थेरापिस्टबीच आत्मीय सम्बन्ध पनि विकास हुन्छ ।
‘हामीले एउटा बिरामीसँग लामो समय बिताउनुपर्छ। उपचारका क्रममा उनीहरूको अवस्था बुझ्छौँ, अभ्यास गराउँछौँ र सुधारका लागि निरन्तर काम गर्छौँ । यसले बिरामीसँग आत्मीयता बढाउँछ,’ उनी भन्छन् ।
उनका अनुसार स्वास्थ्य सेवामा आर्थिक आम्दानी मात्रै सबै कुरा होइन । बिरामीको अवस्थामा सुधार आएको देख्नु, उनीहरूलाई दैनिक जीवनका काम गर्न सहज भएको अनुभव गर्नु र परिवारले पाउने राहत पनि पेसागत सन्तुष्टिका आधार हुन् ।
धनगढीमा फिजियोथेरापी सेवा सुरु गर्दा सीमित जानकारी र बुझाइबाट सुरु भएको उनको यात्रा अहिले न्युरोलोजिकल समस्या भएका बिरामीको पुनःस्थापनासम्म फैलिएको छ । यस यात्रामा उनले उपचारसँगै फिजियोथेरापीबारे जनचेतना बढाउनुपर्ने आवश्यकता पनि महसुस गरेका छन् ।
रिमालका लागि फिजियोथेरापी केवल पेसा होइन, शारीरिक कठिनाइसँग जुधिरहेका व्यक्तिलाई सम्भव भएसम्म आत्मनिर्भर बनाउने प्रयास हो । बिरामीको अवस्था सुधार्न निरन्तर अभ्यास, सही परामर्श र परिवारको सहयोग आवश्यक पर्ने उनको सन्देश छ ।















