धनगढी । सुनसरी लगायत तराई–मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको धार्मिक द्वन्द्व, हिंसा, आगजनी, तोडफोड, बन्द–हड्ताल तथा सामाजिक सद्भावविरोधी गतिविधिलाई मध्यनजर गर्दै कैलालीमा शान्ति–सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्न विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्न समन्वयात्मक रूपमा तत्काल प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। बैठकमा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षहरूसँग समन्वय गरी उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सभा, जुलुस वा र्याली सकेसम्म नगर्ने तथा गर्नैपर्ने अवस्थामा डिजे लगायत चर्को ध्वनि उपकरण प्रयोग नगर्ने निर्णय गरिएको छ। यस्ता कार्यक्रम सञ्चालन गर्दा अर्को धार्मिक समुदायको आस्थामा आँच नपुग्ने, हातहतियार, लाठी, भाला लगायतका सामग्री प्रयोग वा प्रदर्शन नगर्ने तथा स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कुनै पनि धार्मिक समुदायको सम्मानमा आँच पुग्ने अभिव्यक्ति, लेख, संकेत, लाइक, सेयर वा पोस्टजस्ता गतिविधिलाई निरुत्साहित गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउने निर्णय पनि गरेको छ।
हालको संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै छिमेकी मुलुकबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचयपत्र (पहिचान खुल्ने कार्ड) देखाएर मात्र नेपाल प्रवेश गर्न पाउने निर्णय समेत गरिएको छ।
यस्तै, कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा आज धनगढीमा ‘नागरिक सद्भाव र्याली’ आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
जिल्ला प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, धार्मिक सहिष्णुता कायम राख्न तथा कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
कैलालीमा धार्मिक सद्भभाव कायम राख्न कडा निर्णय
कैलालीमा धार्मिक सद्भभाव कायम राख्न कडा निर्णय
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













