काठमाडौँ। नेपालमा डेंगु संक्रमणको जोखिम पुनः तीव्र रूपमा बढ्न थालेको छ। स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ सम्म देशभरका ७२ जिल्लाबाट २,०२५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।
महाशाखाले पाक्षिक रूपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसुन सक्रिय भएसँगै संक्रमण दरमा वृद्धि देखिएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५६८ जना र गण्डकी प्रदेशमा ५३२ जना संक्रमित भेटिएका छन्। जिल्लागत आधारमा झापा २०४ जना, बागलुङ १८० जना सुनसरी १६१ जना, पाल्पा ११६ जना र कास्की ११० जना सबैभन्दा बढी प्रभावित मुख्य पाँच जिल्लाका रूपमा रहेका छन्।
बर्षातको समय र बर्षा पश्चातको अवधिमा लामखुट्टेको वंशवृद्धि तीव्र हुने भएकाले डेंगुको संक्रमण अझै बढ्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले “श्रावण, भाद्र, आश्विन डेंगु सचेतना तीन महिने अभियान” सञ्चालनमा ल्याएको छ।
महाशाखाले डेंगु धेरै प्रतिवेदन भएका जिल्ला तथा स्थानीय तहहरूमा अवस्थाको नियमित विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र दिशानिर्देशन निरन्तर पठाइरहेको जनाएको छ। यो तीन महिने अभियानमार्फत डेंगु सार्ने ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको वासस्थान तथा प्रजनन स्थलहरूको खोजी गरी नष्ट गर्ने ल कार्यलाई तीव्र बनाउने र समुदायस्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ।
डेंगु नियन्त्रणका लागि मुख्य गरी लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी तथा व्यवस्थापन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। घर, कार्यालय तथा सार्वजनिक स्थल वरपर पानी जम्न सक्ने पुराना टायर, ड्रम, गमला, बोतल तथा खुला भाँडाहरूमा पानी जम्न नदिन र नियमित सरसफाइ गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।
यसका साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउन, राति तथा दिउँसो सुत्दा झुलको प्रयोग गर्न, घरका झ्याल ढोकामा जाली लगाउन र टोकाइबाट बच्ने मलमको प्रयोग गर्न अनुरोध गरिएको छ। डेंगुका लक्षणहरू देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी परामर्श लिन र उच्च सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।रातोपाटीबाट













