धनगढी । साउन महिनाको अन्तिम सोमबार आज कैलालीसहित देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
कैलालीका प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बेहडाबाबा मन्दिर, गोदावरी धाम र शिवपुरी धाम लगायतका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
साउनका सोमबार व्रत बसेर भगवान शिवको पूजा–आराधना गर्दै आएका महिलाहरु आज विधिपूर्वक व्रत समापन गर्दैछन् ।
साउन महिनाका अन्य सोमबार व्रत बस्न वा पूजाआजा गर्न नपाएका श्रद्धालुले अन्तिम सोमबार व्रत बसेर भगवान् शिवको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण पनि आज शिवालयमा भक्तजनको भीड लागेको हो ।
साउनको सोमबार भगवान् शिवको प्रिय बारका रूपमा लिइने भएकाले यस दिन श्रद्धालुले व्रत बस्ने, शिवलिङ्गमा जल तथा दूध चढाउने, बेलपत्र अर्पण गर्ने, दीप प्रज्वलन गर्ने तथा दान–पुण्य गर्ने चलन छ ।
शिवालय परिसरमा पूजाआजा गर्ने, जल चढाउने र दर्शन गर्ने भक्तजनको चहलपहल बढेको छ ।



















