लम्की । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट घाइते भई विभिन्न अस्पतालमा उपचाररत नागरिकका लागि रगत व्यवस्थापन गर्ने उद्देश्यले कैलालीको बौनियाँमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा प्रवर्द्धित बर्दगोरिया–३ शून्य क्लब युनियनको आयोजनामा शनिबार वसन्तमुरारी नमुना माध्यमिक विद्यालय, बौनियाँको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा क्लबमा आबद्ध विद्यार्थी, युवा तथा स्थानीय समुदायका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। किसान बहुउद्देश्यीय सहकारीको आर्थिक सहयोग, वसन्तमुरारी नमुना माविको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो।
समुदायमा शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको अवधारणालाई आत्मसात् गर्दै किसान बहुउद्देश्यीय सहकारीले विद्यालय तथा क्याम्पसका युवाको नेतृत्वमा १५० भन्दा बढी ‘३–शून्य क्लब’ गठन गरी सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
क्लबका अध्यक्ष नविन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सञ्चालक सरोजकुमार शाह, महाप्रबन्धक डम्बरबहादुर शाह, विभागीय प्रमुख दीपकराज ढुङ्गाना, विद्यालयका शिक्षक तथा स्थानीय संघसंस्थाका प्रतिनिधि, पत्रकार, विद्यार्थी र रक्तदाताको सहभागिता रहेको थियो।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघसंस्था, रेडक्रसकर्मी तथा रक्तदाताप्रति आभार व्यक्त गर्दै ‘रक्तदान, जीवनदान’को मूल सन्देशसहित यस्ता मानवीय अभियानलाई निरन्तरता दिने जनाएको छ।
रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन
रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














