धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
१८औं मुक्त हलिया दिवसको अवसरमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले आइतबार धनगढीमा आयोजना गरेका ‘मुक्त हलियाको दिगो र न्यायोचित पुनःस्थापनाका लागि सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रममा बोल्दै उनले वास्तविक मुक्त हलियाप्रति सरकार जवाफदेही रहेको बताए ।
मुख्यमन्त्री भट्टले हलिया मुक्ति घोषणा भएको लामो समय हुँदा पनि अझै पुनःस्थापनाका काम पूरा नहुनुमा राज्यको असक्षमताले होकी अरु कारणले हो भन्ने कुराको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने ‘पुनःस्थापनाका लागि राज्यको अथाहा पैँसा केन्द्रीत भएको छ । एनजीओ,आएनजीओको लगानी छ । पुनःस्थापनाका काम पूरा भएनन् । महासंघको भूमिकाको पनि संगसंगै मूल्याकन गरौँ । सरकारको पनि समीक्षा गरौँ । जहाँबाट समस्या भएको छ,तत्तत् ठाउँबाट सुधार गरौँ ।’
मुख्यमन्त्री भट्टले मुक्त हलियाको पुनःस्थापनालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउँदै हलियाको समस्यालाई भविष्यमा नउठ्ने गरी स्थायीरुपमा समाधान गर्ने आधार खोज्नुपर्ने बताए ।
उनले भने ‘मुक्त हलियाका समस्या समाधानका लागि प्रदेश सरकार जतिबेला पनि संवाद गर्न तयार छ । मुक्त हलियाका समस्याप्रति प्रतिवद्ध भएर आत्मसाथ गर्न तयार छ ।’
सरकारले २०६५ भदौ २१ गते सुदूरपश्चिम र कर्णालीमा रहेको हलिया प्रथा अन्त्य भएको घोषणा गरेको थियो । सरकारले सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका ३ जिल्ला गरी १२ जिल्लामा रहेको हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो ।
हलिया मुक्ती घोषणाको १८ वर्ष पूरा हुँदा पनि अझै सबै मुक्त हलियाको पुनःस्थापना हुन नसकेको महासंघले जनाएको छ ।














