बझाङ । बझाङकाे सुर्मा गाउँपालिका–४ दौतडाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको जिप सुर्मा गाउँपालिका–२ डोगडीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा सुर्मा गाउँपालिका–४ घर भएका २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिए । कर्णाली प्रदेश ०२-००१ च १०९५ नम्बरको जिपमा तीन जना रहेको बताइएको छ ।
जिप सुर्मा गाउँपालिका–४ बाट स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ ल्याउँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरी निरीक्षक तिमिल्सैनाले बताए ।
दुर्घटनामा परी जयपृथ्वी नगरपालिका-८ की २५ वर्षीय विपना बोहरा र भारतको कलकता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका जनाइएको छ । उनीहरुको बझाङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक तिमिल्सैनाले बताए ।













