धनगढी । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्।
आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा तीन महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका-३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका-१ का १३ वर्षीय अंकित विक रहेका छन् ।
उनीहरूलाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चारै जनालाई एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता रहेका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। दुर्घटनाको कारण तथा मृतक र बेपत्ता व्यक्तिहरूको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।






















