धनगढी । केही वर्षअघिसम्म सडक, बजार र खेतबारीमा छाडा चौपायाको समस्या झेल्दै आएको धनगढीमा पछिल्लो समय यसको प्रभाव घट्दै गएको छ । समुदायको सहभागितामा गौशाला सञ्चालन गर्न थालेपछि सडकमा छाडा चौपायाको संख्या घट्नुका साथै किसानलाई बालीनाली जोगाउन सहज भएको छ ।
धनगढी उपमहानगरपालिकाले विभिन्न स्थानमा चारवटा गौशाला सञ्चालन गरिरहेको छ । उपमहानगरपालिकाका अनुसार वडा नम्बर ३ को विशालनगर, वडा नम्बर ७ को देवहरिया, वडा नम्बर १६ को बेहडाबाबा र वडा नम्बर १८ को फूलबारी ई गाउँमा गौशाला सञ्चालनमा छन् । तीमध्ये तीनवटा गौशाला उपमहानगरपालिकाले र एउटा धार्मिक संस्थाले सञ्चालन गरिरहेको छ ।
चारवटै गौशालामा अहिले करिब एक हजार दुई सय चौपाया रहेको उपमहानगरपालिकाले जनाएको छ । बिरामी तथा अशक्त चौपायाको व्यवस्थापनका लागि छुट्टै व्यवस्था पनि गरिएको छ ।
धनगढी–१८ फूलबारी ई गाउँस्थित ‘हाम्रो गौशाला’ मा मात्रै ३६० चौपाया छन् । स्थानीय समुदायको सहयोगमा सञ्चालन भइरहेको यस गौशालाले छाडा चौपाया व्यवस्थापनसँगै किसानलाई बालीनाली जोगाउन राहत दिएको छ । स्थानीयले गौशालालाई घाँस, पराल र भुसा सहयोग गर्ने गरेका छन् । जन्मदिनलगायतका अवसरमा चौपायाका लागि आहारा दान गर्ने प्रचलनसमेत बढेको छ ।
‘पहिले बाली जोगाउन रातदिन हेरालु बस्नुपर्थ्यो । अहिले गौशाला बनेपछि छाडा चौपायाबाट हुने क्षति रोकिएको छ,’ स्थानीय सोमनाथ खतिवडाले भने ।
गौशाला सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३४ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम हेरालुको तलब, आहारा खरिद तथा व्यवस्थापनमा खर्च हुने पशु शाखा प्रमुख डा. समीरकुमार ठाकुरले बताए ।
धनगढीका फूलबारी र बेहडाबाबास्थित गौशालाले चौपाया व्यवस्थापनसँगै आम्दानीका स्रोतसमेत विकास गर्न थालेका छन् । फूलबारीको गौशालाले दैनिक करिब १३ लिटर दूध बिक्री गर्दै आएको छ । त्यस्तै, गोबर बिक्रीबाट वार्षिक दुई लाखदेखि साढे दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
गोबरबाट मल उत्पादनलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले फूलबारी र बेहडाबाबास्थित दुवै गौशालालाई विद्युतीय मेसिन उपलब्ध गराएको छ । यसबाट चौपाया व्यवस्थापनलाई आम्दानीसँग जोड्ने प्रयास गरिएको छ ।
उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले समुदायको सहभागितामा गौशाला सञ्चालन गर्दा छाडा चौपायाबाट हुने क्षति कम गर्न सहयोग पुगेको बताइन् । तर, अन्य पालिकाबाट समेत चौपाया धनगढीमा ल्याएर छाडिने भएकाले समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उनको भनाइ छ । यसका लागि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा चौपाया व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उनले बताइन् ।
कैलाली र कञ्चनपुरका अधिकांश पालिकामा छाडा चौपाया व्यवस्थापन चुनौतीका रूपमा रहेको छ । सडकमा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्ने र खेतबारीमा बालीनाली नष्ट हुने समस्या अझै कायम छ ।
यस्तो अवस्थामा समुदायको सहभागिता, स्थानीय तहको सहयोग र चौपायाबाट प्राप्त स्रोतको उपयोगलाई जोडिएको धनगढीको गौशाला अभ्यास अन्य पालिकाका लागि पनि उपयोगी बन्न सक्ने देखिएको छ ।























