टीकापुर । कैलालीको टीकापुर अस्पतालको प्रयोगशाला र दन्त सेवा विभागमा म्याद गुज्रिएका औषधी तथा रिएजेन्ट फेला परेका छन्। अनुगमनका क्रममा दन्त सेवा विभागमा १३ वटा औषधी र प्रयोगशालामा २४ वटा रिएजेन्टको म्याद सकिएको भेटिएको हो।
टीकापुर नगरपालिकाकी अधिकृत रञ्जु आचार्यका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री फेला परेपछि मुचुल्का तयार गरिएको छ। ती सामग्री अस्पतालमै राखिएको र आवश्यक कारबाहीका लागि प्रदेश सरकारका सम्बन्धित निकायमा प्रतिवेदन पठाइने उनले बताइन्।
‘दन्त सेवा विभागमा १३ वटा औषधी र प्रयोगशालामा २४ वटा रिएजेन्ट म्याद गुज्रिएका भेटिएका छन्,’ आचार्यले भनिन्, ‘अहिले मुचुल्का उठाएर सबै सामग्री अस्पतालमै छोडेका छौँ। आवश्यक कारबाहीका लागि प्रदेशका निकायमा पठाउनेछौँ।’
टीकापुर अस्पताल सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित अस्पताल हो।
अस्पतालको प्रयोगशाला विभागका प्रमुख ल्याब टेक्नोलोजिस्ट पवन पोखरेलले केही मेसिन बिग्रिएका कारण प्रयोगमा नरहेका र केही मेसिनको सरसफाइका लागि प्रयोग हुने सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएको दाबी गरे। उनका अनुसार म्याद गुज्रिएका सबै रिएजेन्ट नियमित परीक्षणमा प्रयोग भइरहेका सामग्री भने होइनन्।
त्यस्तै, दन्तरोग विशेषज्ञ डा। आभा चपाईले म्याद गुज्रिएका सामग्री भेटिए पनि अधिकांश औषधी प्रयोग नभएको दाबी गरिन्। तर, अनुगमनकर्ताका अनुसार म्याद गुज्रिएका सामग्री प्रयोगमा रहेका, फ्रिजमा राखिएका र स्टोरमा भण्डारण गरिएका अवस्थामा समेत फेला परेका थिए।
प्रयोगशालाको रिपोर्टप्रति सेवाग्राहीको गुनासो
टीकापुर अस्पतालको प्रयोगशालाबाट आउने रिपोर्ट गलत हुने गरेको भन्दै सेवाग्राहीले बेलाबेलामा गुनासो गर्दै आएका छन्। प्रयोगशालाको सेवाबारे गुनासा आएपछि समस्या पहिचान गर्न खोज्दा विभागले सबै अवस्था सामान्य रहेको जानकारी दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले बताए।
‘प्रयोगशालामा गम्भीर समस्या देखियो,’ अध्यक्ष भण्डारीले भने, ‘अब प्रमुख मेडिकल सुपरिटेन्डेन्ट आएपछि बैठक बसेर छलफल गर्छौँ। अध्ययन गरेर आवश्यक कारबाही अघि बढाउँछौँ ।’
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले अनुगमनको प्रतिवेदन तयार गरी तत्काल सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाइने बताए। प्रतिवेदनका आधारमा देखिएका कमजोरी सुधार गर्न लगाइने र आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
म्याद गुज्रिएका सामग्री अस्पतालमा कुन प्रयोजनका लागि राखिएका थिए, तीमध्ये कुनै सामग्री बिरामीको परीक्षण वा उपचारमा प्रयोग भएका थिए कि थिएनन् र प्रयोगशालाको रिपोर्टमा देखिएको समस्यासँग यसको कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा थप अध्ययन हुन बाँकी छ।























