धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले वैधानिक संसदीय पद्धतिबाट किसानका मागहरु पूरा भएनन् भने किसान आन्दोलनको नेतृत्व लिन बाध्य हुने बताएका छन् ।
शुक्रबार धनगढी उपमहानगरपलिका वडा नम्बर १५, १६ र १७ मा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै ओझाले पाँच वर्षमा पनि मागहरु पूरा भएनन् भने सडकमा उत्रिएर सरकारलाई झुक्न विवश पार्ने अवस्था आउने बताएका हुन् ।
नेपालमा ६२ प्रतिशत जनता कृषि पेशामा भएपनि उनीहरुलाई राज्यले उपेक्षा गरेको बताए । किसानको हित नहुँदासम्म देशको हित नहुने उनले बताए । उनले आफू जितेर गएमा किसानका समस्यालाई केन्द्रमा राखेर काम गर्ने बताए ।
आफू सांसद हुँदा साढे १२ अर्बका योजनाहरु ल्याएको बताउँदै उनले विगतका पाँच वर्षसम्म कतै पनि केन्द्रीय योजना नआएको बताए ।
यस्तै उनले आफू सासद हुँदा २२ वटा पुलको समेत निर्माण गरेको उनले बताए । यातायातको क्षेत्रमा उल्लेख्य काम उनको दाबी छ । ‘सरकुलर जारी गरेर भोट आउदैन,’ उनले भने, ‘जनताले आफूले चाहेको व्यक्तिलाई भोट दिनेछन् ।













