धनगढी- बैतडीमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी २१ वर्षीया माया लुहारको हत्यामा प्रहरीले अहिले सम्म एक जनालाई पनि पक्राउ गरेको छैन । पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी मायाको घाँटी काटिएको अवस्थामा बुधवार बेलुकी शिवनाथ गाउँपालिका–६, शिवनाथ मन्दिर नजिक शब फेला परेको थियो ।
घट्नामा १५ वर्षीया बालिका नेहा लुहारको पनि घाइते अवस्थामा फेला परेकी छन् । उनको पनि घाटीमा धारिलो हतियार प्रहार गरिएको छ । घाइते बालिकाको उद्धार गरेर उपचारका लागि डडेलधुरा अस्पताल पठाएको छ ।
उक्त घट्नामा प्रहरीले अहिले सम्म कसैलाई पनि पक्राउ गर्न नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार घट्नामा संलग्न पत्ता लागे पनि अहिले सम्म कोही पक्राउ नपरेको बताए । ‘घाइतेले दिएको बयानका आधारमा अनुसन्धान गरिरहेका छौँ, डिएसपी शाहीले भने अहिले कसैलाई पक्राउ गरेका छैनौ ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा मायाको हत्या सशस्त्र प्रहरीका जवानले गरे भन्ने रहेको उनले बताए । तर अनुसन्धानमै रहेको हुँदा नाम खुलाउन नमिल्ने उनले बताए ।
मृतक माया भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा बैतडीको शिवनाथ गाउँपालिका सोल्पलामा खटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका आधारमा मायाको फोन ती युवकले खोसेको बताइएको छ । माया फोन लिन र नेहालाई साथमा लिएर शिवनाथ गएको बुझिएको छ ।
मङ्गलवार बिहान घरबाट लुगा सिलाउन भनेर हिँडेका उनीहरू नफर्किएपछि बुधवार आफन्तले प्रहरीमा खबर गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा माया मृत र नेहा घाइते अवस्थामा फेला परेकी थिइन् ।













