काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।
बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ । १० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।
देउवा तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए । त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयले जनाएको छ ।














