धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । मुख्यमन्त्री रावलको शपथ आज अपराह्न ४ बजे हुने प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
नवनियुक्त मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराउने छन् । २९ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा प्रदेश प्रमुख जोशीले बुधबार मुख्यमन्त्रीमा रावललाई नियुक्त गरेका थिए ।
प्रदेशमा सभामुखको निर्वाचन पनि आजै हुँदैछ । दिउँसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।
भण्डारीलाई माओवादीसहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ भने रावललाई कांग्रेससहित नेकपा एकीकृत समाजवादीको साथ छ । एक स्वतन्त्र उम्मेदवार छन् । उनले कता मत दिने भनेर अझै निर्णय गरिसकेका छैनन् ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।














