दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक एअरक्राफ्ट दुर्घटना हुँदा पाइलट सिक्दै गरेका एक नेपालीयुवकको मृत्यु भएको छ। प्रशिक्षण उडान गरिएको उक्त एअरक्राफ्ट स्थानीय समयअनुसार आइतवार बिहान ९ बजे जोहन्सबर्गको नरसेक क्षेत्रमा खसेको थियो।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएकोमा एक जना नेपाली विद्यार्थी भएको बताइएको छ। स्रोतका अनुसार ती विद्यार्थीको नाम प्रथम सुवेदी हो। पाइटल तालिम लिन २० वर्षे सुवेदी डेढ वर्षअघि जोहन्सवर्ग पुगेको बताइएको छ। उक्त एअरक्राफ्ट ग्रान्ड सेन्ट्रल एअरपोर्टबाट उडेर अवतरणको लागि फर्कने क्रममा दुर्घटना भएको साउथ अफ्रिकाका अनलाइन समाचारहरुमा जनाइएको छ।
त्यहाँबाट प्रभात सुमनले दिएको जानकारीअनुसार पाइलट प्रशिक्षणमा थोत्रो जहाज प्रयोगमा ल्याइन्छ। जहाजको उचित मर्मत सम्भार नभएका कारण यो दुर्घटना हुन गएको त्यहाँस्थित विद्यार्थीहरुले जनाएका छन्। जहाज दुर्घटनाबारे पूर्ण जानकारी साउथ अफ्रिकन सिभिल एभिएसन अथोरिटीले ३० दिनभित्रमा दिइने समाचारहरुमा बताइएको छ।













