काठमाडौं, चैत १७
फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा ‘ए मेरो हजुर ४’ को प्रचार सामग्री बुढासुब्बा युट्युब च्यानलबाट उडेको छ। उक्त च्यानलबाट फिल्मको ट्रेलर र गीत हटेको पाइएको छ।
फिल्मकी निर्देशक झरना थापाले प्रदर्शन मिति भने नसर्ने जानकारी दिइन्। उनकाअनुसार आज पनि एउटा गीत सार्वजनिक गर्ने तयारी थियो। ‘अब के हुन्छ थाहा छैन। यतिको चलेको च्यानल पनि ह्याक हुँदा म छक्क परिरहेको छु,’ उनले भनिन्।
फिल्मको सम्पूर्ण प्रचार सामग्री नै युट्युबबाट उडेपछि तनावमा परेको बताइन्। फिल्मको सामग्री रिकभर हुने वा नहनेबारे केही समयपछि बुढासुब्बाले जानकारी दिने उनले बताइन् ।
झरनाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ। यो फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ।













