कञ्चनपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यक्रमस्थल नजिकैबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्टसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई प्रहरीले समातेको हो।
पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन्। बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा प्रहरीले आफूहरुलाई नियन्त्रणमा लिएको नेकपा बहुमतका जिल्ला सचिवालय सदस्य दिपेन्द्र ऐरीले बताए।













