एजेन्सी- प्रकृतिमा पाइने बोटविरुवा, वनस्पतिको कुनै न कुनै फाइदा पक्कै हुन्छ । कतिपयमा धेरै र कतिपयमा कम गुण हुन्छन् ।
दुबो एउटा यस्तो झार हो जसलाई हामीले हाम्रो जीवनमा प्रयोग त गरिरहेकै हुन्छौं । माला, पूजापाठमा दुबोको निकै प्रयोग हुन्छ । तर के तपाईंलाई थाहा छ रु यो औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
आर्युवेदमा उल्लेख गरिएअनुसार दुबोलाई कसरी औषधिका रुपमा प्रयोग गर्न सकिन्छ जानौं ।
आयुर्वेदअनुसार ४०–५० ग्राम दुबोलाई कुटपिस गरी मिश्री पानीमा मिलाई ४५ दिनसम्म सेवन गर्नाले पिसाबथैलीको पत्थरी जाने मान्यता छ ।
२–३ चम्चा दुबोको रसलाई दुधमा मिलाएर दिनको दुई तीन पटक पिउनाले पिसाब पोल्ने समस्या हट्छ । पिसाब राम्रोसँग खुलेर आउँछ ।
त्यस्तै दुबोको कलिला पातलाई पिँसेर २-३ थोपाको दरले नाकमा राख्नाले नाथ्री फुटेमा आराम मिल्छ । साथै नाकबाट रगत आउन छोड्छ ।
चार चम्चा दुबोको रसमा मिश्री मिलाई पिउनाले छाती पोलेको ठीक हुन्छ ।
काटेर रगत बगिरहेको घाउमा केही मात्रामा दुबोका पातलाई मसिनो गरी पिसेर लेप लगाउँदा घाउबाट रगत बग्न छोड्छ । घाउ चाँडै निको हुन्छ ।
दुबोका कलिला पातलाई मेथीसँग मिलाएर पिसेर पिलो आएको ठाउँ वरिपरि लगाउनाले ठिक हुन्छ ।













