धनगढी- आगलागीबाट सखाप भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ।
चालु आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९÷०८० देखि बस्ती निर्माण गरिने सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।
मुख्यमन्त्री भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्तकमैया बस्ती निर्माण गरिने बताएका हुन् ।
त्यस्तै, प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले त्यहाँका मुक्तकमैयाले अझसम्म पनि जग्गाको लालपूर्जा नपाएकोले लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताइन्।
प्रदेश सरकारले तत्काल पूर्ण क्षति व्यहोरिरहेका सो बस्तीका प्रति मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने, त्यस्तै बर्खे खेतीको लागि धानको बीउ निशुल्क दिने जनाइएको छ।
७१ घरधुरी रहेको सो बस्तीमा वैशाख ११ गते दिउँसो खेतमा गहुँको नलमा लगाइएको आगो सल्किएपछि आगलागी भएको थियो। आगलागीबाट बस्तीका २७ घर पूर्णरुपमा जलेका, १२ घर आंशिक रुपमा र ३२ घरमा सामान्य क्षति भएको छ ।














