दार्चुला– चीनसँग जोडिएको दार्चुलाको त्रिदेशीय टिङ्कर नाका खुलाउनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।
कोरोनाकालदेखि बन्द रहेको नाका खुलाउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए। व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हुन।
तिंकर नाका सञ्चालनको मागका साथै तिंकर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्याँस गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्याँस गाउँपालिकाका उपाध्यक्ष कुँवरले बताए।
दार्चुलाको तिंकर नाका भएर सदियौंदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द रहिआएको छ।
टिङ्कर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्याँस क्षेत्रका बसोवास गर्ने चार दर्जनभन्दा बढी व्यापारी व्यवसायीहरुका साथै सयौं स्थानीय बासिन्दाहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ।
टिङ्कर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र कम समयमा सञ्चालन गर्न सम्भव भएकोले तत्काल टिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत माग गरिएको छ।













