धनगढी- कैलालीको टीकापुर क्षेत्रमा लागुऔषधको प्रयोग बढ्दो रुपमा रहेको पाइएको छ। तीन महिनाको अवधिमा लागुऔषध सम्बन्धी घटनामा ३३ जना पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले तीन महिनाको अवधिमा लागुऔषध सम्बन्धी २३ वटा घटनामा अनुसन्धानका लागि ३३ जनालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ५१ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन, २६ ग्राम ६०० मिलिग्राम चरेस र १२० ग्राम गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा १८ देखि २५ वर्ष उमेर समूहका धेरै रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धबसिंह भाटले लागुऔषधको काराबोर तथा ओसारपसार नियन्त्रण गर्ने अभियान अन्तरगत टीकापुर क्षेत्रमा विशेष अप्रेशन चलाइरहेको बताए । सोही अप्रेशन अन्तर्गत विभिन्न उमेर समूहका ३३ जनालाई पक्राउ गरेर कानूनअनुसार मुद्दा चलाइएको भाटले बताए।
इलाका प्रहरी कार्यालयले चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, जुवातास तथा गुण्डागर्दी नियन्त्रण अन्तर्गत पनि काम भइरहेको जनाएको छ । गत वर्षको फागुनदेखि अहिलेसम्म टीकापुर क्षेत्रमा गुण्डागर्दी गर्ने ७३५ जनालाई नियन्त्रणमा लिएर १९ जनालाई सार्वजनिक हितविरुद्धको मुद्धा चलाइएको छ भने अन्यलाई सम्झाइबुझाई गरेर छाडिएको डीएसपी भाटले जानकारी दिए ।
टीकापुरसँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको छ लाख चार हजार रुपैयाँ बराबरको समान बरामद गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। जुवातास खेल्ने र खेलाउन संलग्न २० जनालाई पक्राउ गरेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट एक लाख ६३ हजार रुपैयाँ समेत बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा ठगी सम्बन्धीमा मुद्दाका ८ जना, चोरी सम्बन्धी मुद्दामा ७ जना, सवारी ज्यान सम्बन्धी ३ जना, मुद्रा सम्बन्धी मुद्दाका २ जनालाई समेत पक्राउ गरेर कारवाहीको दायरामा ल्याइएको उल्लेख छ ।














